के पी भुसाल ‘अजस ’-
आराध्यदेव श्री पशुपतिनाथले रक्षा गरिएको, शान्तिका अग्रदूत भगवान श्री गौतमबुद्धको जन्मभूमि रहेको स्वतन्त्र राष्ट्र नेपालको लुम्बिनी प्रदेश अन्तर्गतका बाह्र जिल्ला मध्ये अर्घाखाँची एउटा पहाडी जिल्ला हो । प्राचिन कला संस्कृति, ऐतिहासिक , धार्मिर्क र प्राकृतिक सम्पदाको धनी यस जिल्लामा कैयौं प्रसिद्ध देवालय तिर्थस्थल तथा तपोभूमि रहेकाछन् । यस जिल्लाका प्रसिद्ध देवालय मध्ये सन्धिखर्क नगरपालिका वडानं.,२ मा पर्ने पवित्र तिर्थस्थल त्रिवेणीपुरको सामिप्यमा रहेको श्री सिद्धेश्वर शिवालय पनि पर्दछ । यसको प्राचिन इतिहासलाई कोट्याउँदै जानेहो भने पाकापुस्ताको भनाइ र किम्बदन्ति अनुसार अनादिकाल देखिनै अस्तित्वमा रहेकोकुरा बुझिन आउँछ ।
तर पछिल्लो समयलाई मात्रपनि चित्रण गर्नेहो भने सन्धिखर्क नगरपालिका वडानं.,२ भक्तिटोलमा रहेको श्री सिद्धेश्वर शिवालय ,अर्घाखाँची जिल्लाको सुन्दर नगरी चुत्राबेशी सन्धिखर्कको जननीको रूपमा रहेको मानिन्छ । करिव सात दशक मात्र फर्केरहेर्दा हाल भक्तिटोलमा रहेको बृद्धाश्रम भवनको साम्ने एउटा ठूलो पिपलको रूख थियो । त्येही पिपलको फेदमा श्री सिद्धेश्वर भगवानको स्थापना रहेकोकुरा हालपनि धेरै जनसमक्ष विदितै छ । यसै स्थानमा राखिएको शिवजीको पुरानो (जो अहिलेपनि सुरक्षित राखिएकोछ) शिलामा भक्तजनले पूजाअर्चना गर्दै आएका थिए ।
यसै सिलसिलामा हालको सन्धिखर्क नगरपालीका, १० धरमपानी निबासी पिताम्बर पौडेल (भक्तिबा) ले बि.स २०११ सालमा उल्लेखित शिवजीको स्थापनामा नियमित पूजाअर्चना गर्न सुरु गर्नुभयो । केही समयपछि हालको शिवालय रहेकै स्थानमा कच्ची शिवालयको निर्माण कार्य सम्पन्न गर्नुभै विधिवत् उक्त भोलेबाबाको स्थापनालाई उहाँले नै स्थानान्तरण गर्नु भएको थियो । ज्ञानी शिवभक्त पिताम्बर पौडेल आफुपनि स्थायी रूपमा शिवालय नजिकै बसोबास गर्न थाल्नुभयो र उहाँ यसै ठाउँबाट ब्रह्मलिन हुनुभयो।पछि भक्तिबा बस्दै आउनु भएको हालको भक्तिटोलको नाम पनि उहाँ कै नामबाट भक्तिटोल रहन गएकोहो ।
शिवालय निर्माण गरेर भक्तिबा बस्न थाल्नु भएपछि चुत्राबेशीमा स्याउलाले बारेका छप्पड्मा दिवाकोलागि मात्र नास्ता पसल खुल्दै गए । बिकासको क्रममा कच्ची घर निर्माणकार्य बढ्दै गयो । वरिपरि जङ्गलले घेरेको वीचमा श्मसानघाट रहेको महिला तथा बालबालिका दिनमापनि एकलदोकल हिड्न डराउने चुत्राबेशीमा यसरी मानिसको स्थायी बसोबास बढ्दै गएको हो । बस्ती विकासको संगसगै २०२० सालमा जिल्लाकै शिक्षाको धरोहर जनज्योति माध्यमिक बिद्यालयको स्थापना भएकोहो । साथै बि.सं ३०३२ सालमा नरपानीमा रहेको अघाखाँची जिल्लाको सदरमुकाम स्थानान्तरण भै सन्धिखर्कमा आएपछि विकास निर्माणले निरन्तता पाइनै रहेको हुदा अर्घाखाँची जिल्लाको मुटु सन्धिखर्क चुत्राबेशीमा मानिसहरूको बस्ती दिनानुदिन बढिरहेकोछ ।
मुलुकको कुल जनसंङ्ख्याको ८३ प्रतिशत भन्दा बढी हिन्दूधर्मावलम्वी बसोबास गरिरहेको नेपालमा बिभिन्न प्रलोभनमापारी हिन्दूधर्मको गरिमालाई अपव्याख्यागर्दै धर्म परिवर्तन गराउने केही समुह र व्यक्ति सक्रिय रहेकोकुरा सबैलाइ विदितैछ । अझ यस्तो अवस्थामा मुलुकभित्र रहेका पुराना मठ ,मन्दिर तथा देवालयको मर्मत सम्भार गरी यिनको गरिमा कायम राख्दै अस्तित्वमा ल्याउन नसक्नु हामी वैदिक सनातन धर्मावलम्वीहरूकालागि मुख्य चिन्ताको विषय हो ।
यसै कुरालाई मध्यनजर राख्दै ऐतिहासिक र धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण यस श्री सिद्धेश्वर शिवालयको औचित्य कायमगर्ने उदेश्यले मिति २०६३ साल पौष ५ गतेका दिन लामो समय सम्म भक्तिबाको सामिप्यमा बस्दै आउनु भएका श्री भविश्वर खनालको सकृयतामा शिवालय संग सम्बन्धित अन्य आम सरोकारवाला नगरवासी हरूको आमभेलाको आयोजना गरिएको थियो । सो भेलाको निर्णय अनुसार सन्धिखर्क नगरपालीका, १ निवासी श्री कुलदिप भुसालको अध्यक्षतामा श्री सिद्धेश्वर शिवालय तथा आनन्द बृद्धाश्रम नामको तदर्थ समिति गठन भएको थियो । पछि त्यो समिति जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नियमानुसार दर्ता गरिएकोछ । उल्लेखित समितिले बृद्धाश्रम भवन निर्माणकोलागि अति आवश्यक अपुग घडेरी खरिदगरि बृद्धाश्रम भवनको निर्माण कार्य समपन्न गरेकोहो । हाल यो समिति श्री सिद्धेश्वर शिवालय सञ्चालक समितिको मातहतमा सञ्चालनमा रहेकोछ ।
पछि श्री सिद्धेश्वर भोलेनाथको सेवा र शिवालय निर्माणको विषयलाई लिएर सरोकारवालाको आमभेला आयोजना गरियो । सो भेलाको निर्णय अनुसार सन्धिखर्क,२ निवासी श्री नारायण प्रसाद खनालको अध्यक्षतामा १७ सदसीय तदर्थ समिति गठन गरियो । यो समितिलाई पनि मिति २०६८ साल भाद्र २९ गतेकादिन जिल्ला प्रसाशन कार्यालय अर्घाखाँचीमा नियमानुसार दर्ता गरिएकोछ । यस समितिको सक्रियतामा प्यागोडाशैलीको नयाँ शिवालय निर्माण कार्य समपन्न गरिएकोहो ।
यस ऐतिहासिक शिवालयमा नयाँ संरचनाको साथसाथै मूर्ति ब्यबस्थापनमा पनि सुधार विस्तार गरिएकोछ । हाल यहाँ पुराना मूर्तिहरूको साथमा नयाँ मूर्तीकोपनि स्थापना गरिएकोछ । ऐतिहासिक यस मन्दिरमा नेपालमै पहिलो पटक स्फटिक शिवलिङ्गको स्थापना गरिएकोछ । जानाकार विज्ञहरूका अनुसार धार्मिक दृष्टिकोण अनुसार यसको विशेष महत्व हुनेकुरा बताउनु हुन्छ । नयाँ मूर्तिको प्राणाप्रतिष्ठा श्री हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठासीन श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज ज्यू बाट २०६९ साल बैशाख १६ गतेका दिन सु–सम्पन्न भएकोहो ।
अर्घाखाची जिलल्लाको मुटुक सन्धिखर्क नगरपालिका वडानं., २ भक्तिटोलमा स्थापित धार्मिक धरोहर श्री सिद्धेश्वर शिवालयलाई हालको अवस्था सम्म ल्याइपुर्याउनमा सन्धिखर्क, २ निवासी श्री नारायण प्रसाद खनाल लगायतका महानुभावहरूको विशेष योगदान रहेकोछ । हाल यस श्री सिद्धेश्वर शिवालय सञ्चालक समितिले वहुआयामिक सेवामुलक कार्यक्रम सञ्चालनमा ल्याएकोछ । जो निम्नानुसार रहेकाछन् ।
१–यस श्री सिद्धेश्वर शिवालय संचालक समितिको मातहतमा श्री सिद्धेश्वर आनन्द बृद्धाश्रम नामको संस्था संचालनमा रहेकोछ । जसको मातहतमा रहेको आश्रम भवनमा श्री पाणिनि वेद विद्याश्रममा अध्ययनरत बटुक तथा गुरूवर्गकालागि आवासको ब्यवस्था मिलाउनुको साथै असहाय अपाङ्ग,तिर्थवासी र विपतमा परेका महिला पुरुषलाई केही दिनकोलागि भोजन र आवासको ब्यवस्था मिलाउदै आइएकोछ ।
२–सन्धिखर्क नगरपालिका वडानं. १ शान्तिबगैंचामा श्री पाणिनि वेद विद्याश्रमको स्थापना गरिएकोछ । यसमा हाल ३५ जना बटुकहरू अध्ययनरत हुनुहुन्छ । कक्षा ६ देखि १० सम्म संचालनमा रहेको यस विद्याश्रममा संस्कृत तर्फ शुक्लयजुर्वेद, संस्कृत भाषा, कर्मकाण्द र संस्कृत ब्याकरण पढाइहुन्छ । त्यस्तै अन्य विषयमा ईङलिस नेपाली, गणित र सामाजिक शिक्षा पढाइ हुन्छ ।
३–यसै शिवालय सञ्चालक समितिको अगुवाइमा ॐ श्रीकृष्ण नामकाे गौशाला संचालनमा ल्याइएकोछ, जस्को मातहतमा करिव १५० को हाराहारीमा बेवारिसी स्थाानिय गौमातालाई सन्धिखर्क वडानं.,६ नरपानीमा गोठ निर्माणगरि सेवा पुर्याइएकोछ । यसको साथसाथै सिद्धेश्वर शिवालयमा पनि स्थानिय गाईपालि स्फटिक शिवलिङ्गमा दैनिक दुध चढाउने ब्यवस्था मिलाइएकोछ ।
४–’धर्मो रक्षति रक्षित’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै हिन्दूधर्म रक्षापरिषद (HRP)नेपाल नामको संस्था खडा गरिएकोछ र यसको माध्यमबाट बिभिन्न ठाउँमा वैदिक सनातन धर्मको मर्म र महत्वकोबारेमा सर्वसाधारणलाई पनि बोध गराउने उद्देश्यले विज्ञ द्वारा धार्मिक प्रवचनका कार्यक्रम आयोजना गरिदै आइएकोछ । साथै एच.आर.पी नेपालको सङ्गठन अर्घाखाची र कपिलबस्तु जिल्लाका वडावडामा पुर्याइएकोछ । आगामि दिनमा यो सङ्गठन मुलुकभरी पुर्याउने लक्षकासाथ कार्य अघि बढि रहेकोछ ।
५–ठूलाठूला अनुष्ठान,लक्षवत्ती, ब्रतवन्ध, रुद्री विवाह र अन्य बिबिध, ब्यक्तिगत पूजा अर्चना गर्न चाहने भक्तजनकालागि समितिले सिद्धेश्वर मन्दिर परिषर्मा आवश्यक ब्यवस्था मिलाउदै आएकोछ ।
६–घरघरमा ब्यक्तिगत अनुष्ठान तथा विविध पूजा अर्चना गर्दा पण्डित तथा बटुक सेवा आवश्क भएमा उपलब्ध गराउने ब्यवस्थाछ ।
७–कुनैपनि धार्मिक कार्यक्रम गर्दा दुविधा हुनगएका विषयवस्तुमा धार्मिक मान्यता अनुसार उचित रायसरसल्लाह दिने ब्यव्स्था मिलाइएकोछ ।
उल्लेखित कार्यक्रम संचालन गर्दै हालको अवस्थामा आइपुग्दा समितिलाई विभिन्न समस्या आइ नपरेका होइनन् । आगामि दिनमा झनै चुनौतिका चाङ थपिदै जानेछन । तरपनि यस श्री सिद्धेश्वर शिवालय संचालक समितिले अघि सारेका योजनाहरू दिगो रूपमा संचालन गर्नु वाञ्छनीय हुन्छ । यसकोलागि सर्वपक्षिय सहयोग समर्थनको खाँचोछ् । तव मात्र सुपादेउराली मन्दिर, अर्घा महाकालीदेवीको मन्दिर र विचमा श्री सिद्धेश्वर शिवालय आकर्षक हुनेछन र पर्यटन प्रवर्धनमा ठूलो टेवा मिल्ने संभावना हुन्छ ।
(लेखक श्री सिद्धेश्वर शिवालय सञ्चालक समितिका सचिव हुनुहुन्छ)