सर्लाहीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

सर्लाहीको वागमती नगरपालिका-१२ बथानेका कुमार विकको ४ वर्षीय छोरा सालिन विकको सर्पको टोकाइका कारण मृत्यु भएको हो।

आइतबार राति सानी आमा कल्पना विकसँग सुतिरहेको अवस्थामा ११ बजेतिर बालक एक्कासि रुन थालेपछि सर्पले टोकेको आशंकामा उपचारको लागि लालबन्दी १ स्थित नवलपुर लगिएको थियो।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बालकको उपचार गराउन पुर्‍याइए पनि बालकको मृत्यु भएको परिवारजनले बताएको छ।

उपचार केन्द्रमा ल्याइ पुर्‍याउनुभन्दा पहिले नै बालकको मृत्यु भइसकेको सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले बताए। बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको इन्चार्ज यादवले जानकारी दिए।

मृतक बालकको बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला बालकलाई सर्पले टोकेको स्थानीयले बताएका छन्। उनी नजिकै रहेको सानी आमाको घरमा सुत्न गरेका थिए।

मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *