धरान : खडेरी बढ्दै गएपछि धरानमा पछिल्लो केही समय पानीको व्यापक अभाव छ । धराने खानेपानीमा योगदान गर्ने अक्सर साना स्रोतहरू सुकेपछि पानीको हाहाकारै मच्चिएको छ यहाँ । पानीको हाहाकारमा खानेपानी ट्याङ्करहरूको खपत अहिले बढेको छ । धराने सडकहरूमा पानी बोकेर ओहोरदोहोर गरेको प्रशस्तै ट्याङ्करहरू देखिन्छन् । ट्याङ्करबाट किन्न सक्नेले त किन्छन् । किन्न नसक्नेहरूको आस भने नियमित धाराको नल नै हो ।
तर, स्रोतमै पानीको अभावले खानेपानीको नलमा पानी आएको छैन । नलमा खानेपानी नआएका स्थानीयहरूको हुल उपमहानगर पुगेर मेयर हर्क साम्पाङलाई गुनासो गर्थे । साम्पाङले पनि सबैको गुनासो सुन्थे । अनि भन्थे, ‘प्रकृति रिसाएको छ । अस्ति श्रमदानबाट पानी ल्याएका स्रोतहरू पनि सुके । कोशीको पानी नल्याई धरानको खानेपानी समस्या हल हुँदैन ।’
समूहका समूह धराने जनता पानीको समस्या लिएर निरन्तर आउन थालेपछि साम्पाङले गत शुक्रबार एउटा समूहलाई भने, ‘पानी नलिई अब फर्किन्नँ ।’ धरानमा पानी नलिई फर्किन्नँ भने साम्पाङ श्रम अभियान चल्दै गरेको कोकाहा खानेपानी परियोजनातिर हानिएका थिए । शुक्रबारको कार्यालय सकेर हिँडेका साम्पाङ शनिबार, आइतबार र सोमबार श्रम अभियानमै खटिए । जहाँ दिन सकिन्छ त्यही बसे ।
मंगलबार राति १२ बजेर ३ मिनेटमा त्यही श्रम अभियान अन्तर्गतको कोकाहको पानी धरानको पकुवा खोलामा आइपुग्यो । करिब ४३ किलोमिटर पाइपको दूरी पार गरेर पकुवामा कोकाहाको पानी खसाइएको थियो । पाइपको हावा चेक गर्दै आएको टोलीले पकुवामा पानी खसालेको थियो । श्रम अभियानमा रहेका साम्पाङ पनि फिल्डमै थिए उति बेला ।
पकुवामा खानेपानी आइपुगेपछि राति नै साम्पाङ पकुवामा देखिए । कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि आइपुगेका साम्पाङ पानी देख्नेबित्तिकै भावविह्वल भए । एक्कासि साम्पाङका आँखा रसाए । त्यत्तिकैमा पाइपबाट खस्दै गरेको पानीले मुख धोए । टाउकोमा पानी थापी रहे ।