नेपालमा मंकीपक्सको बिरामी फेला परेको छ । नेपालमा रहेकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ती महिलामा शंकास्पद लक्षण देखिएपछि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा मंकीपक्स संक्रमण पुष्टि भएको हो ।
नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि नै यो १११ देशमा पुष्टि भइसकेको छ । यो रोग लाग्दा ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथीहरू बढ्ने हुन्छ ।
साथै आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुनसक्छ ।
यस्ता लक्षण देखिएमा मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।