काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले सामुदायिक विद्यालयको पठन पाठनमा अबरोध पुर्‍याउने कुनै पनि गतिविधि भएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार सूचना जारी गरेर नगरप्रमुख शाहले भनेका छन्, ‘काठमाडौं महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ ।’

काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूले गतिविधि गरेर सिधै कारबाही गर्ने शाहले चेतावनी दिएका छन् ।

असार ३ गते देशभरिका सामुदायिक विद्यालयका पठन–पाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको नगरप्रमुख शाहले बताएका छन् ।

‘नेपाल सरकारको मिति २०६८/०२/११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ’, नगरप्रमुख शाहले सूचनामा भनेका छन् ।

‘काठमाडौं महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ’, उनले भनेका छन् ।

नगरप्रमुख शाहले भनेका छन्, ‘शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’

‘विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ’, सूचनामा भनिएको छ ।

‘कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ’, नगरप्रमुख शाहले भनेका छन् ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानून बमोजिम कारबाही गरिनेछ’, नगरप्रमुख शाहले भनेका छन् ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *